कैलाली, २६ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावबाट माधवकुमार नेपालको पार्टी समाप्त हुने जिकिर गरेका छन् । आज कैलालीमा आयोजित चुनावी सभामा उनले पार्टी र देशका विरुद्ध अपराध गरेको भन्दै माधव नेपालको पार्टी यही चुनावबाट सकिने बताएका हुन् ।
उनले भने, ‘माधव नेपाल त यही चुनावबाट समाप्त हुन्छन्, माधव नेपालको पार्टी खरानीको डल्लो हो, पानीको भिजाएर डल्लो पारेको पानी सुकेपछि फुट्छ ।’
एकीकृत समाजवादीबाट धेरै नेताहरु एमालेमै फर्किसकेको पनि ओलीले दावी गरे । ‘माधव नेपालको पार्टी त रित्तो भाँडो भइसक्यो । अलि अलि बाँकी होलान्, ४ मंसिरसम्म सबै आइसक्छन्’ उनले भने ।
ओलीले माओवादी केन्द्र पनि भविष्यमा समाप्त हुने बताए । ‘एमालेसँग तालमेल गर्दा ५४ सिट पाएको थियो, अहिले चोकटा खान गएको झेलमा डुबेको जस्तो भएको छ, ४४ कि ४५ सिट पाएको छ, आधा पनि जित्दैन’ ओलीले भने ।










प्रतिक्रिया दिनुहोस्