Banner News

ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ : अध्यक्ष थापा



काठमाडौँ, २८ कार्तिक । पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशीको प्रेरणामा बनेको सत्ता गठबन्धन भन्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार देशको हितमा हुने बताएका छन् ।

आज बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै थापाले भारतले नाकाबन्दी गर्दा त्यसको विरुद्ध डटेर लड्ने र विदेशीले कब्जा गरेको लिम्पियाधुरा चुच्चे नक्सा बनाउने ओली नेतृत्वको सरकार देशको हितमा हुने स्पष्ट पारेका छन् ।

थापाले भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने र विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरुले देशको हित नगर्ने र उनीहरु विदेशीकै प्रेरणामा गठबन्धनमा बाँधिएको उल्लेख गरेका छन् ।

‘कसैलाई तितो लाग्ला तर, भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरु भन्दा त्यसको विरुद्ध डटेर लड्ने, विदेशीले कब्जागरेको लिम्पियाधुरा बिर्सने नेताहरु भन्दा चुच्चे नक्सा बनाउने (केपी शर्मा ओली) र विदेशीको प्रेरणामा बनेको गठबन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ ।’ एमाले अध्यक्ष ओलीलाई मेन्सन गर्दै थापाले लेखेका छन् ।