काठमाडौँ, २९ कार्तिक । ललितपुर कोन्ज्स्योसम गाउँपालिका–४ नल्लुकी टुकुमाया तामाङ ‘४ मंसिरमा निर्वाचन आउँदै छ’ भन्ने सुनेको तर ‘कसरी मतदान गर्ने ?’ भन्ने बारेमा जानकारी नभएको बताउँछिन् । ४२ वर्षको उमेरमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनले पहिलोपटक मतदान गरेकी थिइन् । ‘४ गते चुनाव छ भन्ने वडाध्यक्षले भन्नुभयो तर कसरी भोट हाल्ने थाहा छैन, कति जनालाई भोट दिने भन्ने पनि थाहा भएन,’ उनले राजधानीसँग भनिन् ।
सोही वडाअन्तर्गत तल्लो नल्लुका हर्क गोले राजनीतिक दलका नेताकार्यकर्ता चुनावी प्रचारमा आए पनि मतदान गर्ने तरिका’दयगत भने कसैले नसिकाएको बताउँछन् । उनी वैदेशिक रोजगारीबाट केही समयअघि मात्रै स्वदेश फर्किएका हुन् ।‘राजनीतिक दलका नेताकार्यकर्ता प्रचारप्रसारमा आइरहेका छन्, बाटोबाटै आउँछन्, जान्छन्, कसरी मत हाल्ने ?’ भन्ने कसैले पनि सिकाएका छैनन्,’ गोले भन्छन् ।
काठमाडौंकै उत्तरी क्षेत्रमा पर्ने तारकेश्वर नगरपालिका–४ का ८१ वर्षीय सीताराम लामिछाने आगामी निर्वाचनमा ‘चारवटा मतपत्रमा मतदान गर्नुपर्ने’ भन्ने’दयगत रेडियोबाट जानकारी पाएको बताउँछन् । ‘रेडियोले भनेको सुनेको हुँ, चारवटा मतपत्र हुन्छ रे !’ लामिछाने भन्छन्, ‘घरघरमा सिकाउन कोही आएका छैनन् ।’ आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले ‘मतदाता शिक्षा कार्यक्रम’ लागू गरे पनि समुदायमा भने त्यसको प्रभाव न्यून देखिएको छ । कतिपय स्थानमा खटाइएका मतदाता शिक्षा कार्यकर्ता नै पुगेका छैनन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्