काठमाडौं, १७ जेठ । नेपाल मेडिकल काउन्सिलले दाङका शिव चौधरीको उपचारमा मेघा अस्पतालले गरेको लापरवाही तथा चर्को शुल्क असुलेको घटनाबारे छानबिन थालेको छ । स्वास्थ्यमन्त्री गगन थापाले मेघा अस्पतालको घटनाप्रति चासो देखाउँदै तत्काल छानबिन गर्न निर्देशन दिएपछि काउन्सिलले छानबिन सुरु गरेको हो ।
राँगाले हानी घाइते भएका चौधरीको ललितपुरस्थित मेघा अस्पतालमा ४१ दिनको भोगाइबारे उनका छोरा ऋषिको भनाइ अन्नपूर्ण पोस्ट्ले जस्ताको तस्तै प्रकाशन गरेको थियो ।
काउन्सिलको व्यावसायिक आचरण समितिका संयोजक डा।सतीश देवको नेतृत्वको टोलीले मंगलबार मेघा अस्पताल पुगी त्यहाँका कर्मचारीसँग स्पष्टीकरण लिएको थियो । देव नेतृत्वको टोलीले चौधरीलाई भर्ना गरेदेखि डिस्चार्ज गर्दासम्मका सम्पूर्ण ‘रेकर्ड’ र खर्चबारे विवरण माग गरेको छ ।
तर, प्राविधिक कारणले मेघा अस्पतालले तत्कालै बुझाउन नसक्ने बताएपछि तीन दिनको समय दिएर टोली शिवको अवस्था बुझ्न राष्ट्रिय ट्रमा सेन्टर पुगेको थियो । डा.देवले छानबिन भइरहेकाले वास्तविकता बाहिर आउन केही समय लाग्ने बताए । मेघामा उपचार गराउँदा बेखर्ची तथा अवस्था झन् झन् बढी नाजुक बनेपछि उनी राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भएका छन ।शिवको स्वास्थ्य क्रमिक सुधारमा आएको छ ।
उपचारमा धेरै ढिलाइ भएकाले अपेक्षित सुधार नहुने चिकित्सकले बताएका छन् । ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा।गौरवराज ढकालले शिवले समयमै आवश्यक उपचार नपाएकाले सोचेजस्तो परिणाम आउन कठिन हुने बताए ।
‘उनको गर्धनको हड्डी भाँचिएको छ । यस्तो अवस्थामा २४ वा ७२ घन्टाभित्र शल्यक्रिया गरिसक्नुपर्छ । तर, उहाँ ६ सातापछि आए’, डा. ढकालले भने, ‘उनले उपचारमा भएको सबै पैसा रित्याएछ । यहाँ निःशुल्क उपचार गरिरहेका छौं ।’
डा. ढकालका अनुसार शिवको अप्रेसनका लागि आवश्यक उपकरण जुटाउने प्रयास भइरहेको छ ।ट्रमामा चार दिन बस्नुभएका शिव सजिलै कुराकानी गर्न, हातखुट्टा चलाउन र खान सक्ने भएका छन । चिकित्सकका अनुसार शिवको भाँचिएको गर्धनको हड्डी जोडिन समय लाग्नेछ ।’
मलाई यहाँ असाध्यै राम्रो छ, डाक्टर पनि धेरै असल हुनुहुँदो रहेछ, नर्र्सले पनि हेरचाह गरिरहनुभएको छ । बाँच्छु भन्ने आशा जागेको छ’, शिवले भने । अन्नपूर्ण पोस्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्