राजनीति

निर्वाचन आयोगले घुम्ती टोली परिचालन गर्ने



काठमाडौँ, १ मंसिर । निर्वाचन आयोगले देशका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गर्ने भएको छ ।

आयोगका अनुसार सहसचिव वा उपसचिवको नेतृत्वमा सरकारी कर्मचारी र प्रहरी लगायत रहने घुम्ती टोली परिचालन गर्न लागिएको हो ।

आज १ गते राति १२ बजेदेखि ४ गते मतदान नसकिँदा सम्मको समय संवेदनशील मानिन्छ । त्यो बेलामा मतदातालाई प्रभावित पार्ने, रकम बाँड्ने, भोजभतेर गर्ने लगायतका गुनासा यसअघिका मतदानका क्रममा पनि आउने गरेका र यी विषयमा स्थानीय सुरक्षाकर्मी सहित यहाँबाट पठाएको टोलीले समेत हेर्ने र अनुगमन गर्नेछ ।

उक्त टोलीले स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारीको अधिकार र आयोगको आचारसंहिता पालनाको अधिकार समेत प्रयोग गर्नेछ ।

मौन अवधिमा गैरकानूनी र आचारसंहिता विपरीत काम गरेमा तत्काल कारकाही गर्न पाउने गरी पठाउन लागिएको टोली काठमाडौं, ललितपुर महानगरपालिका लगायत सुगम र तुलनात्मक रुपमा शान्तिसुरक्षा भएको ठाउँमा जाने छैन । दुर्गम, मतदान केन्द्र नै कब्जा हुने स्थिति भएको अनि जोखिमपूर्ण ठाउँहरुलाई समेट्ने गरी टोली खटाउने तयारी भएको हो । सकेसम्म मतगणना सम्पन्न गरेर मात्रै फर्कनु भनी त्यो टोलीलाई म्याण्डेट दिइने आयोगले जनाएको छ ।