राजनीति

देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्छु : डा.तोसिमा कार्की



काठमाडौँ, ८ मंसिर । प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छन् । ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कार्कीले आअज मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताएकी हुन् ।

उनले भनिन्– ‘हजुरहरुले दिनुभएका वाणीहरु, वाचाहरू, आशा, विश्वास, भरोसा सम्पूर्णलाई मैले संरक्षण गरेर हृदयभित्र जगेर्ना गरेर राखेको छु । म मेरो पाँच वर्ष सदनमा ललितपुर मात्र होइन, समग्र देशवासीको गर्व गर्न लायक राजनीतिज्ञ, सांसद बनेर म उभिने छु । र जनमुखी मुद्दाहरूमा बुलन्द रहने छु । विजय तबमात्र स्थापित हुन्छ, जब मैले हजुरहरु समक्ष राखेका वाचाहरु, प्रतिवद्धताहरुमा मैले काम गरेर देखाउन सक्नेछु । त्यो दिन हामी विजय मनाउनेछौँ । तबसम्म मैले यसलाई जिम्मेवारीको रुपमा ग्रहण गरेको छु । निरन्तर मलाई खबरदारी गरिरहनुहोला । सल्लाह, सुझाव दिइरहनुहोला । हामी मिलेर अब यो पाँच वर्षमा हामीले चाहेको देश, हामीले चाहेको समृद्ध, स्वस्थ, सुखी देश मिलेर निर्माण गर्नेछौँ । यसमा हातेमालो हजुरहरुले गरिदिइ रहनुहोला ।’ उनले संसदभित्र आफ्नो भूमिका राजनीतिको परिभाषा स्थापित गर्नमा रहने बताए । सांसद कस्तो हुनुपर्छ र संसद भवनमा वहस कस्तो हुनुपर्छ भन्ने देखाउन आफ्नो भूमिका रहने उनले बताए ।

प्रतिनिधिसभा सदस्य डा.कार्कीले आफू समस्या र समाधान बीचको परिपक्व पुल बन्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले भनिन्– ‘संसद भवनमा मेरो भूमिका राजनीतिको परिभाषा स्थापित गर्नमा रहन्छ । सांसद कस्तो हुनुपर्छ ? संसद भवन भित्रका बहस कस्तो हुनुपर्छ ? र कुर्सीमुखी होइन, जनमुखी मुद्दामा एक सांसद कसरी उभिनुपर्छ ? समस्या र समाधान बीचको पुल कसरी निर्माण गर्न सकिन्छ भन्नेमा मेरो भूमिका रहन्छ । समस्या र समाधान बीचको परिपक्व पुल बन्ने प्रतिवद्धता म हजुरहरु सामु जायर गर्दछु ।’ उनले देशमा सुशासन र सुव्यवस्था स्थापित गर्न लागिपर्ने बताइन् । उनले जनताको अवस्था जनताले चाहेजस्तै बनाउने आँट र हिम्मत आफुसँग रहेको बताइन् । उनले भनिन्– ‘म त एक प्रतिनिधि पात्र मात्र हुँ । ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गरेर देशमै सुशासन, सुनिधि, सुव्यवस्था र व्यवस्था माथिको हामी जनताले चाहेको अवस्था स्थापित गर्छु भन्ने आँट, हिम्मत गरेर उठेकी प्रतिनिधि पात्र मात्र हुँ । ललितपुर क्षेत्र नं. ३ ले मलाई देशको लागि, देश हितको लागि सुम्पिइसकेको छ । त्यसकारण म ललितपुर क्षेत्र नं. ३ का सम्पूर्ण मेरा आमाबुबा, दाजुभाई, दिदी बहिनीहरूमा नै यो जितको श्रेय फेरिपनि टक्र्याउन चाहन्छु ।’