समाचार

शृंखलाबद्ध मोटरसाइकल चोरी गर्ने एक पक्राउ



काठमाडौँ, ११ मंसिर । काठमाडौँ उपत्यकामा शृंखलाबद्ध रुपमा मोटरसाइकल चोरी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ ।

एकै व्यक्तिले पटकपटक मोटरसाइकल चोरी गरी बिक्री गर्ने तथ्य फेला परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक प्रहरी उपरीक्षक कृष्णप्रसाल कोइरालाले जानकारी दिए । उनका अनुसार खोजी अभियानमा संलग्न प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई मोटरसाइकलसहित पक्राउ गरेको थियो । ‘विभिन्न स्थानमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको सूचनाका आधारमा अनुसन्धानका लागि खटिएको टोलीले भक्तपुरको राधेराधेबाट एकजनालाई पक्राउ पनि गरेको छ’, उनले भने ।

पक्राउ पर्नेमा सुपरमार्केटको पार्किङस्थलबाट चोरीको मोटरसाइकलसहित सुर्खेत घर भएका भूपेन्द्रबहादुर बुढा मगर रहेका छन् । प्रहरी उपरीक्षक कोइरालाका अनुसार उनले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट तीन थान मोटरसाइकल चोरी गरेको अनुसन्धानबाट खुलेको छ।

तीनैवटा मोटरसाइकल प्रहरीले बरामद गरेको जनाइएको छ । उनले अन्य विभिन्न क्षेत्रबाट पनि मोटरसाइकल चोरी गरेको आशंका रहेकाले थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस