अर्थ

कर बुझाउन आग्रह



रसुवा, २१ मंसिर । स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह गरिएको छ ।

स्थानीयस्तरमै करदातालाई प्रशिक्षण दिई समयमै कर असुली गराउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा आयोजित कर प्रशिक्षण कार्यक्रममा सो अनुरोध गरिएको हो । रसुवामा स्थायी लेखा नम्बर लिएपछि विवरण नबुझाइ तोकिएको शुल्कसमेत नतिर्ने बढ्न थालेको जनाउँदै त्यस्ता कार्यलाई निरुत्साहित गराउन मङ्गलबार कार्यालयले करदाता शिक्षा कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष सुप्साङ तामाङ र चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले राज्यलाई तिर्नुपर्ने कर दस्तुर समयमै तिर्न स्थानीय व्यापारी व्यवसायीलाई जागरुक गराउने कार्यमा सहयोग गर्ने बताए । सो अवसरमा सामाजिक संघसंस्था एवं गैरसरकारी संस्थाले किसानलाई पशुपालन, तरकारी खेती, साना घरेलु उद्योगजस्ता कार्यलाई अनुदान दिने बहानामा स्थायी लेखा नम्बर बनाउन लगाई बेवस्ता गरेको सहभागीले गुनासो गरेका थिए ।

स्थायी लेखा नम्बर प्राप्त गर्ने अधिकांश करदाताले अनुदानसमेत नपाएको र प्रयोगविहीन भइरहेको जनाएका थिए । स्थायी लेखा नम्बर आन्तरिक राजस्व कार्यालयद्वारा करदाता शिक्षाको प्राप्त ज्ञानले भावी दिनमा खारेज वा उपयोग गर्ने भन्ने विषयमा जागरण बढेको समेत सहभागीहरूले बताएका छन् । जिल्लाको पाँचवटै गाउँपालिकामा सडक सञ्जाल जोडिएको र गाउँघरमा समेत व्यवसाय सञ्चालन भइसकेकाले सबै व्यवसायीलाई करको दायरामा आउन कार्यालयले गरेको छ । कर अधिकृतद्वय देवीप्रसाद भण्डारी र शिवहरि न्यौपानेद्वारा आयकर, ऐन, मूल्य अभिवृद्वि कर ऐन तथा अन्तःशुल्क ऐन तथा सो सम्बन्धी नियमावलीका विषयमा करदातालाई प्रशिक्षण दिएको थियो ।

पछिल्लो समय पर्यटकीय क्षेत्र लाङ्टाङ तथा तामाङ सम्पदा मार्गको गतलाङ र तातोपानी क्षेत्रको पर्यटकीय गन्तव्यमा व्यवसायी कारोबार बढेको छ । रासस