समाचार

आजको मौसम



काठमाडौँ, २३ मंसिर । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसका कारण हिमपात र वर्षा केहीसमय यता भएको छैन ।

विभागका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै आज राति प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । आज बिहान पौने ६ बजे काठमाडौँको तापक्रम ७.२ डिग्री सेल्सियस रहेको छ ।

तराईका केही भू–भागमा बिहानको समयमा हुस्सु/कुहिरो लागिरहेको छ । घाम लागेपछि उक्त हुस्सु र कुहिरो हट्नेछ । देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।