राजनीति

प्रधानमन्त्रीका लागि जन अपेक्षा युवाको, संसदीय बहुमत देउवाको



काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसभित्र आगामी सकारको नेतृत्व युवा पुस्तामा जानुपर्ने आवाज उठिरहेको बेला पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलमा बहुमत जुटाउन लाग्नुभएको छ । निर्वाचनका सबै परिणाम सार्वजनिक भएको ३० दिनभित्र नयाँ सरकार गठन गर्नुपर्ने व्यवस्थाअनुसार आगामी सरकारको नेतृत्वका लागि देउवा आफ्नो पक्षमा माहोल बनाउन लाग्नुभएको हो ।

कांग्रेसमा प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता चयन गर्नुपर्ने वैधानिक व्यवस्था छ । पार्टीलाई पुनर्जागरण गराउन र जनभावनाको प्रतिनिधित्व गर्न संसदीय दलको नेतामा नयाँ पुस्तालाई पालो दिनुपर्ने आम जनआवाज उठिरहे पनि देउवाले पुनः आफंैलाई संसदीय दलको नेतामा अघि सार्दै शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायत नेताहरूलाई सहयोग गर्न आग्रह गरिसक्नुभएको छ । संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको महामन्त्री गगनकुमार थापा अहिले अल्पमतमा हुनुहुन्छ ।

गत निर्वाचनको टिकट वितरणमै देउवाले आफ्नो पक्षमा स्पष्ट बहुमत पुग्ने गरी टिकट वितरण गर्नुभएको थियो भने समानुपातिक प्रणालीको बन्द सूचीको अग्रभागमा समेत आफ्नो पक्षमा दुई तिहाइ बहुमत पुग्नेगरी सूचीकरण गर्नुभएको थियो । त्यसबेला संस्थापनइतर समूहले एक साता आन्दोलन नै गरेर आफ्नो पक्षका केही नेताहरूलाई प्रवेश गराए पनि उक्त समूह संसद्मा अल्पमतमै छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।