राजनीति

एमालेबाट समानुपातिकमा निर्वाचित हुने १८ महिला यी –यी हुन



काठमाडौं, २३ मंसिर । प्रतिनिधिसभामा समानुपातिकतर्फ सवैभन्दा बढी सिट जितेको नेकपा एमालेबाट आधाभन्दा बढी महिला सांसद चयन हुने भएका छन । एमालेले प्रतिनिधिसभामा पाएको कुल ३४ सिटमध्ये १८ सिटमा महिला सांसद चयन हुने भएका हुन ।

निर्वाचन आयोगले समानुपातिकको बन्द सूचीमा रहेको प्राथमिकताका आधारमा ६ वटा क्लष्टरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएको सूची निकाल्ने छ । नेकपा एमालेबाट संघीय संसदअन्तर्गत राष्ट्रियसभामा १७ जना रहेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरेर ७८ सिट पुगेको छ । दुवै सदनमा एमालेबाट ९५ जनाको प्रतिनिधित्व हुनेछ । ९५ जनाको ३३ प्रतिशत भनेको ३२ जना महिला हो ।

अहिले राष्ट्रियसभामा ९ र प्रतिनिधिसभामा ४ गरेर एमालेका १३ जना महिला सांसद छन् । बाँकी १८ जना महिला प्रतिनिधिसभाको समानुपाकितर्फबाट पूर्ति गर्नुपर्नेछ । यसअनुसार बाँकी १६ जना पुरुषलाई मात्र समानुपातिकबाट संसदमा प्रवेश पाउने मौका मिल्नेछ ।

समानुपातिकतर्फ एमालेले १८ जना महिला सांसद चयन गर्दा खसआर्यतर्फ ३१।२० प्रतिशत, जनजातीतर्फ २८।७० प्रतिशत, थारुतर्फ ६।६० प्रतिशत, दलिततर्फ १३।८० प्रतिशत, मधेसीतर्फ १५।३० प्रतिशत र मुस्लिमतर्फबाट ४।४० प्रतिशतका दरले गर्नुपर्नेछ । यसअनुसार खसआर्यतर्फ एमालेबाट बढीमा ६ जना निर्वाचित हुनेछन ।

एमालेले बुझाएको समानुपातिकको बन्द सूचीमा खसआर्यतर्फको पहिलो नम्बरमा मेनका कुमारी पोखरेल, दोस्रोमा सरिता भुसाल, तेस्रोमा शोभा ज्ञवाली, चौथोमा बिजुला रायमाझी, पाँचौंमा निर्मला कोइराला र छैटौंमा सम्झना थपलिया हुनुहुन्छ । पिछडिएको क्षेत्रबाट खस आर्यमै भागरथ कुमारी चन्द र मेनका पछाईंमध्ये एक जना समेटदा थपलिया आउट हुने संभावना पनि रहेको छ ।

यस्तै जनजातीतर्फ एमालेबाट ५ जना महिला निर्वाचित हुनेछन । एमालेले बुझाएको बन्दसूचीमा महिलातर्फ एकदेखि पाँच नम्बरसम्म क्रमशः नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, इश्वरी घर्ती र रणकुमारी बलम्पाकी मगर हुनुहुन्छ । यस्तै थारुतर्फ एमालेबाट एक जना निर्वाचित महिला हुनेछन । थारु महिलाबाट बन्दसूचीमा १ नम्बरमा आस्माकुमारी चौधरी हुनुहुन्छ भने दोस्रोमा शान्ति चौधरी हुनुहुन्छ ।

यसैगरी दलित महिलातर्फ कम्तीमा २ जना निर्वाचित हुनेछन । तीन जना पनि पर्न सक्ने संभावना रहेको छ । दलिततर्फ बन्दसूचीमा पहिलो नम्बरमा रुक्मणी राना बराइली, दोस्रोमा हर्कमाया बिश्वकर्मा र तेस्रोमा इन्दिराकुमारी पन्थी रहनुभएको छ । यस्तै मधेसी महिलातर्फ एमालेले तीन जना सांसद बन्नेछन ।

मधेसीतर्फ एमालेबाट क्रमशः बीना देवी, अमृता देवी अग्रहरी र प्रतिक्षा मुखिया तिवारी पहिलो, दोस्रो र तेस्रो नम्बरमा रहनुभएको छ ।यस्तै मुस्लिम महिलातर्फ एक जना सांसद निर्वाचित हुनेछन । मुस्लिमतर्फ एमालेको पहिलो नम्बरमा रुही नाज हुनुहुन्छ ।