राजनीति

बाह्रै महिना मेलम्चीको पानी खुवाउने खानेपानी मन्त्रीको प्रतिवद्धता



काठमाडौँ, २३ मंसिर । खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भएपनि काठमाडौँवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाएका छ ।

आज मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौंवासीलाई अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाएका हुन् । उनले मेलम्चीको पानीको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिभीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताए ।

मन्त्री चौधरीले विज्ञहरुले दिएको सुझाव र एडिभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा बाह्र मास नै काठमाडौंवासीलाई पानी खुवाउन सकिने उल्लेख गरे । उनले काठमाडौंवासीलाई बारम्बार मेलम्चीकै पानीको लागि पर्खिनुपर्ने बाध्यता हटाउनका लागि सरकारले मेलम्चीको विकल्पको रुपमा यस वर्ष वर्षातको बेलामा वागमतीको पानी ल्याएर मेलम्चीकै ट्रिटमेण्ट प्लान्टमा जम्मा गरिएको, याङ्ग्री र लार्केको योजना पनि अध्ययन गरी अघि बढाएको साथै सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको र काम पनि भइरहेको बताए ।