शैक्षिक

१०८ विद्यालयमा भौतिक पूर्वाधार र ल्याब स्थापना



बागलुङ, २४ मंसिर । बागलुङमा चालू आर्थिक वर्षमा एक सय आठ विद्यालयमा भौतिक पूर्वाधार निर्माण र ल्याव स्थापना हुँदैछन् । चार कोठे र दुईकोठे भवन बनाउन स्थानीयतहमा कार्यक्रम सम्झौतालाई आह्वान गरिएको छ ।

शिक्षाको भौतिक तथा प्रविधिको सुधारका लागि नेपाल सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा कार्यान्वयन गरिने बागलुङका एक सय आठ विद्यालयमा भौतिक पूर्वाधार र ३५ विद्यालयमा आइसिटी ल्याब स्थापनासँगै एक सय ४३ विद्यालयलाई स्थानीय पालिकामार्फत सम्झौता गरेर कार्यान्वयन गर्न थालिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भदौमा बजेट विनियोजनका लागि विद्यालयको सूची सार्वजनिक गरेकोमा मङ्सिर २८ गतेदेखि कार्यान्वयलाई स्थानीय तहसँग सम्झौता गर्न परिपत्र जारी गरेको छ ।

गत भदौ अन्तिममा बजेट विनियोजन गरिएको छ । विद्यालयमध्ये ४६ मा चार कोठे, ६२ मा दुई कोठे र ३५ मा आइसिटी ल्याबलाई बजेट विनियोजन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मावन स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बागलुङमा ४६ चार कोठे भवन बनाउन ५० लाखका दरले २३ करोड, ६२ विद्यालयको दुई कोठे भवन बनाउन २५ लाखले १५ करोड ५० लाख र ३५ विद्यालयमा आइसिटी ल्याबलाई छ लाख ५० हजारले दुई करोड २७ लाख ५० हजार गरी रु ४० करोड ७७ लाख ५० हजार बजेट विनियोजन भएको छ ।