पर्यटन

भूकम्पबाट क्षतिग्रस्त प्रतापपुरको जीर्णोद्धार सुरु



काठमाडौँ, १९ जेठ । पुरातत्व विभागले प्रतापपुर मन्दिरको जीर्णोद्धार सुरु गरेको छ । विसं २०७२ वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो मन्दिरमा ठूलो क्षति भएको थियो ।

प्रताप मल्लले निर्माण गरेकाले सो मन्दिरलाई प्रतापपुर भनिएको हो भने आफ्नी रानी अनन्तप्रियाको सम्झनामा अनन्तपुर मन्दिर निर्माण गरिएको हो । सो मन्दिर जोखिममा परेपछि जीर्णोद्धार थालिएको छ ।

विभागले पुरानैस्वरुपमा मर्मत गर्नका लागि प्रारम्भिक कार्य सुरु गरिसकेको छ । नयाँ प्रविधिको प्रयोग गरी मर्मतसम्भार पूरा गर्ने गरी जीर्णोद्धार कार्य अघि बढाइएको हो । अर्को आर्थिक वर्षसम्ममा त्यस मन्दिरलाई पूरा गरिने लक्ष्य राखिएको महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू क्षेत्रको संरक्षण गर्दै आएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले शान्ति पोखरीअगाडि रहेको पुरानो चैत्यको जीर्णोद्धार गरिसकेको छ । त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि पुरातत्व विभाग र महासमितिले अध्ययन गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए ।

महाचैत्यआसपास क्षेत्रमा रहेको शान्तिपुर मन्दिर भने महासमितिले जीर्णोद्धार सुरु गरेको महासमितिका कोषाध्यक्ष पुण्यसागर लामाले जानकारी दिए ।