शैक्षिक

चार सयभन्दा बढी महिलाको निःशुल्क उपचार



बागलुङ, २० जेठ । जैमिनी नगरपालिका–९ पैंयुथन्थापमा भएको स्त्रीरोगसम्बन्धी बहृत् निःशुल्क स्वास्थ्य शिविरबाट चार सय ५७ जना महिलाले लाभ लिएका छन् ।

दुईदिने शिविरमा पाठेघरको जटिल समस्यादेखि सामान्य स्त्रीरोगका बिरामीले जाँच र उपचार सेवा पाएका हुन् । ग्रामीण भेगका महिलालाई लक्ष्य गरी गैरआवासीय नेपाली सङ्घ हङकङ र पैंयुथन्थाप स्वास्थ्यचौकी मिलेर शिविर चलाएका हुन् ।

जाँच गराएकामध्ये सात महिलाको पाठेघरको शल्यक्रिया गरिएको स्वास्थ्यचौकीका प्रमुख कुष्मराज सुवेदीले जानकारी दिनुभयो । समस्याको निदान शिविरमै भए पनि शल्यक्रिया भने धौलागिरि अञ्चल अस्पताल बागलुङमा गरिएको छ । शल्यक्रिया गर्दादेखि पूर्ण निको नहुन्जेलको सबै खर्च आयोजकले नै व्यहोर्ने भएको छ । यस्तै १९ महिलाको पाठेघरमा ‘रिङ प्रेसरी’ राखिएको जनाइएको छ ।

पाठेघर खस्ने, महिनाबारी अनियमित हुने, बढी रगत बग्ने, तल्लो पेट दुख्ने जस्ता समस्या भएका महिलाले शिविरबाट लाभ उठाएका थिए, सुवेदीले भने। आयोजकले बिरामीलाई गुणस्तरीय उपचार सेवा र औषधि वितरणको व्यवस्था मिलाएका थिए । धौलागिरि अञ्चल अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयबाट गएका दक्ष स्वास्थ्यकर्मीले बिरामीको जाँच तथा उपचार गरेका हुन् । टाढा टाढाका गाउँबाट किशोरीदेखि ज्येष्ठ उमेरका महिलाले शिविरमा सेवा लिन आएको आयोजक गैरआवासीय नेपाली सङ्घ हङकङका अध्यक्ष ललित सुब्बाले बताए ।

हङकङमा रहेका नेपाली समुदायबाट आर्थिक सहायता जुटाएर निःशुल्क स्वास्थ्य शिविर राखिएको हो । अध्यक्ष सुब्बाले भने शल्यक्रिया गर्नुपर्ने बिरामीको निको नहुन्जेको सम्पूर्ण खर्च संस्थाले व्यहोर्छ ।

शिविरमा आएका महिलालाई निःशुल्क रुपमा ‘सेनेटरी प्याड’ वितरण गरिनाका साथै प्रजनन स्वास्थ्यका विषयमा प्रशिक्षण तथा स्वास्थ्यकर्मी र महिला स्वयम्सेविकालाई आयोजकले सम्मानसमेत गरेको थियो । लामो समयदेखि समस्या पालेर बसेका महिला गाउँघरमै दक्ष स्वास्थ्यकर्मीबाट उपचार सेवा पाएपछि खुसी देखिन्थे ।