Banner News

उपत्यकाबाट ४० मेट्रिक टन फोहर व्यवस्थापन



काठमाडौँ, २० जेठ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २१२ औँ हप्तामा आज विश्व वातावरण दिवसको अवसर पारेर त्रिपुरेश्वरदेखि पशुपति राममन्दिरसम्म साइकल ¥यालीसहित पशुपति क्षेत्रमा विशेष सफाइ गरियो ।

आजको वाग्मती सफाइबाट नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो ।

साइकल ¥यालीको आयोजना जनसङ्ख्या तथा वातावरण मन्त्रालयले गरेको थियो । मन्त्रालयले वाग्मती सफाइ महाअभियानलाई १०० जोर बूट, ५०० जोर पञ्जा र ५०० जोर मास्क पनि उपलब्ध गराएको थियो ।
सफाइमा ५०० भन्दा बढीको सहभागिता थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, हलेसी डेकोर, युरेसिया रेयुकाइ, एक्सिस स्कुल, ग्लोबल पिस फाउन्डेसन, रोयल सहकारी, सिस्नुपानी नेपाल, नेपाल विज्ञापन सङ्घ, नेपाल एसजिआई, साया समूह, फ्रेन्डस क्लब ललितपुर, निर्माण नेपाल, सुपादेउराली युथ, ओसो नेपाल नदी संरक्षण संस्थालगायत संस्थाको सक्रिय सहभागिता थियो ।

सफाइमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डन, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, पूर्व सचिव किशोर थापा, डा राजु अधिकारी, एलपी भानु शर्मा, अर्जुन धरेल, टङ्कराज आचार्य, नारायण श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, हेमराज कार्कीलगायतको सहभागिता थियो ।

पुडासैनी मैत्री समाज र ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ले गुह्येश्वरमाथिको वाग्मतीमा गरेको १७३ औँ हप्ताको सफाइमा आज गोकर्णेश्वर नगरपालिका– ५ स्थित वाग्मतीवाटिका स्तम्भमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० जनाको सहभागिता थियो ।

सो अवसरमा नदी किनारमा बनाइएको बगैँचामा पनि सरसफाइ गरिएको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।
यसैगरी रुद्रमती सफाइको १७१ औँ हप्तामा काठमाडौँ महानगरपालिका– ९ मा जनचेतनामूलक घरदैलो अभियानसहित पशुपति राममन्दिरसम्म ¥यालीसहित सरसफाइ गरियो ।

आजको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिनुभयो । सफाइमा वडा नं –३० बाट निर्वाचित वडा अध्यक्ष दलबहादुर कार्कीसहित वडा सदस्यको पनि सहभागिता थियो ।

विष्णुमती सफाइको १४३ औँ हप्तामा आज तारकेश्वर नगरपालिका– १० स्थित तारकेश्वर गुम्बामा सफाइ गरी ६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा एक सय ५० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।

तिलगङ्गा महिला समूहले तिलगङ्गास्थित वाग्मती किनारमा २० जनाको सहभागितामा गरेको एक सय २० औँ हप्ताको सफाइ तिलगङ्गादेखि पशुपति राममन्दिरसम्म ¥यालीसहित सफाइ गरिएको अध्यक्ष आशा पाण्डेले जानकारी दिनुभयो ।

यसैगरी चक्रपथ सफाइको आठौँ हप्तामा आज चक्रपथ सफाइ ग्रिनसिटी अस्पतालबाट पश्चिमतर्फ सामाखुसीस्थित तलेजु पेट्रोल पम्पसम्म सफाइ गरी २२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीलगायत ५५० अभियानकर्मीको सक्रियता थियो । सफाइमा श्वेताश्री फाउन्डेसन र भद्रगोल समूहको पनि सहभागिता थियो ।