शैक्षिक

पालको निधनप्रति एमालेद्वारा दुःख व्यक्त



काठमाडौँ, १७ माघ । नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य निरु पालका पति मोहनबहादुर पालको निधन भएकोमा एमालेले दुःख व्यक्त गरेको छ ।

एमालेका महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा पालको निधनले कञ्चनपुर जिल्लाले निष्ठावान् पार्टी नेता गुमाएको छ भने पार्टीले एउटा असल कार्यकर्ता गुमाएको भन्दै दुःख व्यक्त गरेको उल्लेख छ ।

सेती अञ्चल अस्पतालमा उपचारका क्रममा ४५ वर्षीय पालको आज बिहान ४ बजे निधन भएको हो । पेटसम्बन्धी समस्याको उपचारका लागि पाललाई सो अस्पतालमा भर्ना गरिएको थियो ।

आइतबार उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि सेती अञ्चल अस्पताल धनगढीमा भर्ना गरिएको थियो । विज्ञप्तिमा पाल पार्टीप्रति प्रतिबद्ध, निष्ठावान् कार्यकर्ता रहेको जनाइएको छ ।

कञ्चनपुरमा जन्मिनुभएका पाल कञ्चनपुर जिल्ला कमिटी सदस्य रहेको उल्लेख गरिएको छ ।