काठमाडौँ, १९ पौष । रौतहट-२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।
सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन् । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए ।
उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत गठबन्धनका उम्मेदवार तथा पुर्व मन्त्री हाल नख्खु कारागारमा रहेका महमद आफताभ आलमका छोरा फोर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी विजयी भएका थिए । २०७७ सालमा जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका उनी गत निर्वाचनमा क्षेत्र २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्