समाचार

भिजिबिलिटी कम हुँदा उडान अवतरण प्रभावित



काठमाडौँ, १९ पौष । केही दिनयता काठमाडौँसहित पहाडी क्षेत्रमा बिहानपख र तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्दै आएको छ । यसले सडकसँगै हवाई क्षेत्रको यात्रा प्रभावित हुन थालेको छ ।

हुस्सु कुहिरो लागेका बेला भिजिबिलिटी अर्थात् दृश्य क्षमता घट्ने र यस्तो बेला दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् । भिजिबिलिटी कम हुँदा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवतरण प्रभावित भएका छन् । यस्तै, अन्य पहाडी र तराईका विमानस्थलबाट पनि उडान अवतरण हुन सकेको छैन ।

हुस्सुका कारण भिजिबिलिटी झन् झन् घट्दै गइरहेको छ । बिहान दुई हजार मिटर रहेको भिजिबिलिटी ७ बजेपछि १६ सयमा झरेको छ । यसले गर्दा उडान अवतरण प्रभावित भएका छन् । अहिले कम भिजिबिलिटीमा पनि उडान अवतरण गर्ने क्षमता भएका जहाजलाई मात्रै उडान अवतरण गर्ने अनुमाति दिइएको विमानस्थल कार्यालयले जनाएको छ ।

१६ सयभन्दा माथिको भिजिबिलिटी आवश्यक पर्ने सबै जहाज रोकिएका छन् । यस्तै, भिजिबिलिटी कम हुँदा सडक दुर्घटनाको जोखिम पनि उच्च हुन्छ । दुर्घटना रोकथामका लागि तीव्र गतिमा गाडी नचलाउन र सडक वारपार गर्दा पनि गाडी आए नआएको राम्ररी हेर्न ट्राफिक प्रहरीको आग्रह छ ।