राजनीति

सत्तामा जान मरिहत्ते गर्दैनाैँ : अध्यक्ष नेपाल



काठमाडौँ, २० पौष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताएका छन् ।

पार्टीको भातृ सङ्गठन युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिक पिक्चर नै क्लिएर नभएकाले पनि आफ्नो पार्टीको पोलिटब्युराे बैठकले सरकारमा जाने/नजानेबारे निर्णय नलिएको बताए ।

उनले भने, ‘कसैकसैले समाचारमा एकीकृत समाजवादी त अलमलमा पर्‍याे भनेर लेखे । त्याे लेखेर ठिक गरे । पोलिटिकल सिनारियो त क्लिएर हुनुपर्‍याे नि ! अहिलेसम्म हामीले यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा हेर्नै पाएका छैनौँ । मान्छेको अनुहार हेरेर गर्ने हो भने प्रचण्डजीको अनुहार हेर्दा ल समर्थन गरिदिउँला भनौँला तर अनुहारलेमात्रै हुँदैन । त्यहाँ अनेकहरू छन । के–के गर्छन् भन्ने थाहा छैन । अनि त्यत्तिकै अगाडि सरेर बोल्ने कुरामा के हो हतार ? हामीलाई के बित्दो छ र ? २६ गते हो सरकारले विश्वासतको मत प्राप्त गर्ने । त्याे दिनसम्म हामीले निर्णय गरे पुगेन ? भैगो नि ! सस्पेन्समै रहोस् । दुनिँया कुदिरहून् । कुराकानी हुन्छ, छलफल हुन्छ । अनि हाम्रो पार्टीको आधिकारिक कमिटीले निर्णय गर्छ ।’