समाचार

घरमै पुगेर बोलाउँदा पनि दादुराको खोप लगाउने न्यून



नेपालगन्ज, २४ पौष । उपमहानगरपालिका ८ मा शनिबार १५ जना दादुराका बिरामी फेला परे । पुस २२ गतेसम्ममा यो वडामा चार जना बिरामी देखा परेका थिए । अहिले यो वडामा बिरामीको सङ्ख्या १९ जना पुगेको छ ।

सङ्क्रमितको सङ्ख्या बढ्दो रहेको यो वडामा दादुराविरुद्धको खोप लगाउनेको सङ्ख्या भने न्यून छ । वडामा माइकिङ गरिएको छ भने महिला स्वयंसेविका घरघरमा पुगेर खोप लगाउन बोलाइरहेका छन् । घरमै गएर बोलाउँदा पनि खोप लगाउन इच्छा न्यून देखिएको छ ।

नेपालगन्जमा पुस २२ गतेदेखि दादुराविरुद्धको खोप लगाउन सुरु गरिएको छ । २२ गते यो वडामा ७० जनाले खोप लगाएका छन् । २३ गते ८१ जनाले खोप लगाएका छन् । नेपालगन्ज त्यही वडा हो जहाँ हात्तीपाइले रोगविरुद्ध खोप अभियानमा पनि न्यून उपस्थिति हुने गर्दछ । यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।