Banner News

एमालेले गठबन्धन सरकार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल



काठमाडौँ, २४ पौष । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले सरकार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

बंगलादेशको राजधानी ढाकामा जारी बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनताको बहुदलीय जनवादको नेतृत्वमा एमालेले शान्तिपूर्ण रूपमा नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै आएको बताएका हुन् ।

उनले भने, ‘चुनावमा हामीले संसद्मा बहुमत प्राप्त गरेर सरकार बनाउने लक्ष्य राखेका थियौँ । तर, हाम्रो पार्टी र पार्टी नेतृत्वविरुद्ध प्रतिक्रियावादी शक्तिहरूका निरन्तर आक्रमण, अफवाह र सरकारद्वारा गरिएको चुनावी धाँधलीका कारण हामीले केही सिट गुमायौँ । एउटै दलको सरकार बनाउन संसद्मा एउटै दलको बहुमत छैन । त्यसैले जनताको जनादेशलाई सम्मान गर्दै हाम्रो पार्टीले वामपन्थी दल र देशका लागि सकारात्मक भूमिका खेल्न चाहनेलाई एकै ठाउँमा ल्याएर गठबन्धन सरकार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

एमालेलाई नेपाली जनताको समर्थनको बढ्दो लहरले नेपाली जनतामा एमालेको बढ्दो लोकप्रियतालाई जनाउने बताउँदै उनले भने, ‘यी उपलब्धिहरू हामीलाई उपहारका रूपमा आएका होइनन्, हाम्रा सङ्घर्ष, धैर्यता र हाम्रा मार्गदर्शक सिद्धान्त र कार्यक्रमहरू–जनताको बहुदलीय जनवाद र हाम्रो राष्ट्रिय महत्त्वाकाङ्क्षा–समृद्धिको उपलब्धिका रूपमा आएका हुन् ।’