Banner News

पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री गगनकुमार थापा



काठमाडौँ, २१ जेठ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कार्यकालमा औषधि र जनशक्ति व्यवस्थापन, स्वास्थ्य संस्था नियमन, सेवा विस्तार, सेवाको आधारमा स्वास्थ्य संस्था वर्गिकरणलगायत क्षेत्रमा सुधारका काम भएको बताउनुभएको छ ।

करिब नौमहिने कार्यकालको अन्तिम दिन आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले भन्नुभयो, ‘‘स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेर मन्त्रालय आउँदै गर्दा संविधान जारी भइसकेको तर सोअनुरुपको नीतिगत, कानुनी र संरचनागत व्यवस्था बनेको अवस्था थिएन । औषधि निःशुल्क वितरण गरिने घोषणा गरिएको थियो तर दुई वर्षदेखि औषधि खरिद हुन सकेको थिएन । थुप्रै नीतिको अभाव थियो भने बनेका नीति, निर्देशिकाको पनि प्रभावकारी कार्यान्वयनमा चुनौती थियो ।

यसबीचमा मन्त्रालयका सम्पूर्ण समूह र सहयोगी समूहको सहयोगमा सबै अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रसम्म अनिवार्य फार्मेसी राख्ने व्यवस्था गरिएको बताउँदै उहाँले यद्यपि सबै अस्पतालमा पर्याप्त औषधि उपलब्ध गराउने विषय अझै चुनौतीपूर्ण देखिएको र अस्पताल परिसरभित्र अस्पतालको फार्मेसीबाहेक कुनै पनि फार्मेसी राख्न नपाइने व्यवस्था गरिएको छ भन्नुभयो ।

प्रविधिजन्य स्वास्थ्य सामग्री निर्देशिका स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ भने औषधिको विशेष दर्ता प्रक्रिया सुरु भइसकेको छ,’ मन्त्री थापाले भन्नुभयो, स्वास्थ्य सेवालाई नयाँ उचाइमा पु¥याउन सातवर्षीय ‘एकीकृत स्वास्थ्य पूर्वाधार मापदण्ड’ बनाई काम गर्ने घोषणा भइसकेको छ ।

उहाँका अनुसार मन्त्रालयले नौ महिनाका अवधिमा पहिले अड्किएका र नयाँ पुराना गरी झन्डै २० नीति नियम, नियमावली, ऐन, नियम संशोधन र नयाँ निर्माणगरिएको छ । मदिरा नीति, मदिरा ऐन, अपाङ्गता नीति, राष्ट्रिय स्वास्थ्य विधेयक, स्वास्थ्य बिमा विधेयक, प्रजनन् स्वास्थ्य विधेयक, स्वास्थ्य संस्था गुणस्तर प्राधिकरण ऐन, औषधि ऐन संशोधन, स्वास्थ्य सेवा ऐनको संशोधन, खोप ऐन पारित भई नियमावली बन्दै गरेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी मानव अङ्ग प्रत्यारोपण नियमावली, प्रविधिजन्य स्वास्थ्य सामग्री निर्देशिका, राष्ट्रिय आयुर्वेद नीति, चिकित्सक परिचालन निर्देशिका संशोधन, आँखा स्वास्थ्य नीति नीति, एम्बुलेन्स निर्देशिका, प्रयोगशाला निर्देशिका, नेपाल मेडिकल काउन्सिल ऐन संशोधन, मानसिक स्वास्थ्य नीति र अस्पताल फार्मेसी निर्देशिका पनि मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनका चरणमा छन् ।

नयाँ आउने नेतृत्वलाई थालिएका राम्रा कामको निरन्तरता दिन आग्रह गर्दै उहाँले इमान्दारीपूर्वक काम गरेमा परिर्वतन हुन समय नलाग्ने अनुभव आफूले सिकेको बताउनुभयो ।