Banner News

उद्योगी व्यवसायीलाई निराश नहुने गरी काम गर्छु : अर्थमन्त्री पौडेल



काठमाडौँ, ३० पौष । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्ने बताएका छन् ।

शुक्रबार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीहरुलाई निराश हुनु नपर्ने गरी काम गर्ने बताए । उनले सरकारले व्यवसायीहरुको माग र सुझावहरुलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिवद्धता जनाए । उद्योगी व्यवसायीहरुले उठाएका उचित मागलाई सकारात्मक रुपमा लिएको उनले बताए ।

उनले भने, “अहिले नै म यस्तो गर्छु भनेर बोल्दिनँ । तपाईँहरुले उठाएका विषयहरुलाई छलफल गर्छु । व्यवसायीहरुले दिएका उचित सुझाव र सल्लाहलाई ग्रहण गरिने छ । मन्त्रालयमा कामको चाङ लागेका छन् । त्यसले गर्दा महासंघले राखेका माग र सुझावहरुलाई ग्रहण गर्दै व्यवसायीहरुलाई निराश हुन नदिने गरी कोशिश गर्छु ।”

महासंघका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरका कारण व्यवसायीहरु पलायन हुने अवस्था आएको भन्दै बैंकको ब्याजदर एकल अंकमा कायम गर्नुपर्ने माग राखे । भन्सार दरको महँगीका कारण बजार मूल्य बढेकाले घटाउन सुझाव दिँदै उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा सहुलियत दिन माग राखे ।

महासंघले बैंकले प्रदान गर्दै आएको बिनाधितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रमा बिनाधितो कर्जा १५ लाखबाट वृद्धि गरेर २५ लाख बनाउन माग गरिएको छ । अध्यक्ष कार्कीले बैंकको कर्जा ड्रावल्टमा भइरहेको झन्झटिलो प्रक्रियाको अन्त्य गर्नुपर्ने बताए । उनले बैंकले घरजग्गा लिलाम गर्दा ३५ दिने सूचनालाई ६ महिना समय कायम गर्नुपर्ने माग राख्दै व्यापार व्यवसायको लागि वैज्ञानिक भाडादर कायम गर्न माग गरे ।