राजनीति

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताएका छन् ।

माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति)को अवसरमा एक शुभकामना सन्देश दिदै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीले यस पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न तथा यस पर्वलाई राष्ट्रिय एकता, सद्भाव र सहकार्यलाई थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन अपील गरे । नेपालीको बीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा गर्दै प्रधानमन्त्री प्रचण्डले यस अवसरमा मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान भएको बताएका छन् । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आआफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व रहेको र त्यसले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्पष्ट पारे।

प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, “भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न–भिन्न भेग र समुदायमा भिन्न–भिन्न ढङ्गले मनाउने प्रचलन छ ।”