राजनीति

‘सरकारमा जाने मान्छे बिग्रिन्छ भन्ने सुझाव छ मैले अवसरमा परिणत गर्छु’



काठमाडौँ, २ माघ । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङदेनले पदभार ग्रहण गरेका छन् ।

उपप्रधानमन्त्री पदको सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उनले सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा मंगलबार दिउँसो पदभार ग्रहण गरेका हुन् ।

विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यकता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्य दल बनाउने पहिलो निर्णय गरेको बताए ।

‘भन्नेहरुले सरकारमा गयो कि बिग्री हाल्छ जानै हुँदैन है राजेन्द्र लिङदेनजस्ता मानिसहरु भन्थे । नेपालको सन्दर्भमा सरकारमा जानु, मन्त्री हुनु भनेको नै चुनौतीपूर्ण जस्तो ठानिन्छ । किनकी त्यहाँ गएपछि मान्छे बिग्रिन्छ नै भनेर । नबिग्रेका मानिसहरु त्यहाँ जानुहुन्न भन्ने मेरो शुभेच्छुकहरुले बिहानसम्म पनि सुझाव दिइरहनु भएको थियो । यो चुनौतीपूर्ण छ । तर म यसलाई अवसरमा परिणत गर्छु । मलाई विश्वास छ’ उनले भने ।