Banner News

प्रतिनिधिसभाको पहिलो यात्रामा नै घिमिरे सभामुख



काठमडौ ५ माघ। नेकपा एमाले का स्थायी कमिटी सदस्य देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख चयन हुनुभएको छ । पाँच दशकदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय घिमिरेले प्रतिनिधिसभाको पहिलो पलटमा नै सभामुख बन्ने अवसर प्राप्त गर्नुभएको हो ।
२०१३ जेठ १३ गते ताप्लेजुङ सिकैंचामा जन्मिनुभएका घिमिरेले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेबाट तेह्रथुम र पाँचथर जिल्लामा संगठन विस्तारको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो । २०३९ देखि इलाम जिल्लाको पार्टी प्रमुखको जिम्मेवारी र इलाममा पार्टी संगठन निर्माण तथा विस्तारमा प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले पार्टी संगठन निर्माणमा इलाम जिल्लामा मात्र लगातार १० वर्ष समय बिताउनु भएको छ ।

त्यसक्रममा उहाँविरुद्ध तत्कालीन पञ्चायती शासकबाट पटकपटक वारेन्ट जारी समेत भएको थियो । स्नातकसम्म अध्ययन गरेका उहाँले १२ वर्ष भूमिगत राजनीति गर्नुभएको छ । त्यस क्रममा घिमिरे पटकपटक हिरासतमा समेत बस्नुपर्यो । घिमिरे २०४६ भदौमा सिरहामा सम्पन्न मालेको चौथो महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुनुभएको थियो भने २०४९ मा सम्पन्न नेकपा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।

घिमिरेले २०५० देखि साबिकको मेची अञ्चल इन्चार्जको जिम्मेवारी बहन गर्नुभएको थियो । तत्कालीन मेची अञ्चलका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङमा उहाँ समेतले निर्माण गरेको संगठनकै बलमा २०४८ को संसदीय चुनावमा एमालेका सबै उम्मेदवारहरु निर्वाचित भएका थिए । उक्त चुनावपछि पूर्वमा ‘मेची अञ्चलका चारै जिल्ला, लालकिल्ला’ भन्ने नारा नै स्थापित भयो ।

घिमिरे २०५६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभयो । संसदीय अनुभवमा उहाँको त्यो पहिलो यात्रा थियो । त्यसपछि पनि घिमिरे पुनः पार्टीकै काममा फर्किनुभयो । २०५८ मा पार्टीको केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभाग इन्चार्जको जिम्मेवारीमा रहेर काम गर्नुभएका घिमिरे त्यसपछि लगातार इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संगठन लगायतका विभाग र संगठनको इन्चार्जको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको छ ।
एमालेको नवौं राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष ओलीको सचिवालयको संयोजन गर्ने जिम्मेवारी समेत घिमिरेलाई नै दिइएको थियो । उहाँले उक्त जिम्मेवारी समेत सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । एमाले र माओवादी केन्द्रबीच वाम एकता भइ नेकपा गठन भएपछि घिमिरेलाई प्रदेश १ को अध्यक्षको जिम्मेवारी प्राप्त भएको थियो । एमालेको दसौं महाधिवेशनबाट उहाँ पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ को इन्चार्जको भूमिकामा हुनुहुन्छ ।
मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवार एवं पूर्वसहपाठी हरि राना र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल स्वागत नेपाल लाई पराजित गर्दै घिमिरे पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । आजबाट उहाँ सभामुखको भूमिकामा पुग्नुभएको छ । आज भएको निर्वाचनमा घिमिरे कुल खसेको २६७ मतमध्ये १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनुभएको हो ।