राजनीति

शिक्षामन्त्रीद्वारा विश्वविद्यालय छाता ऐन र उच्च शिक्षा ऐन ल्याउने प्रतिबद्धता



काठमाडौँ, ६ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले आफ्नो कार्यकालमा विश्वविद्यालय छाता ऐन र उच्च शिक्षा ऐन ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । शिक्षा मन्त्रालयमा पदबहाली गरेको भोलिपल्ट बुधबार मन्त्रालयका सचिव र महाशाखाका प्रमुख एवं सहसचिवहरूसँगको पहिलो ब्रिफिङमा उक्त प्रतिबद्धता जनाउनुभएको हो ।

मन्त्री खनालले विश्वविद्यालयलाई पुनःसंरचना गर्न छाता ऐन अपरिहार्य रहेको बताउँदै गर्दा मन्त्रालयका सबै महाशाखा प्रमुखले उच्च शिक्षाको छाता ऐन र शिक्षा ऐन ल्याएमा शिक्षा मन्त्रालयको ठूलो उपलब्धि हुने धारणा राखेका थिए ।

दुई विधेयकको हालसम्मको प्रगतिको बारेमा जानकारी लिँदै मन्त्री खनालले भन्नुभयो– ‘शिक्षा ऐन र छाता ऐन ल्याउन प्रतिबद्ध छु, यसको लागि मन्त्रालयका सबै अधिकारीको महत्वपूर्ण सहयोग हुनेमा विश्वस्त छु । दुवै विधेयकको काम फेरि शून्यबाट गर्नुपर्नेछ ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।