राजनीति

सरकारमा रहेर संघीयताको विरोध गर्नेलाई स्पष्टीकरण सोध्छु: प्रधानमन्त्री



काठमाडौँ, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने बताएका छन् ।

आजको बसेको राष्ट्रियसभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा बसेर वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको विरुद्धमा बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्न आफू गम्भीर भएको बताए ।

उनले भने, “मैले प्रत्यक्ष हेरेको वा थाहा पाएको हैन, माननीयज्यूहरूले प्रश्न उठाउनुभयो । मेरै क्याबिनेटको मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भन्नुभएको कुरा यहाँ आएर थाहा भयो । यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो स्पष्टीकरणको विषय हुन्छ ।”

मन्त्रिमण्डल बाहिर बस्ने भए मात्र व्यवस्थाविरुद्ध धारणा राख्न पाइने बताउदै उनले भने, “मन्त्रीमण्डल बाहिर गएर आफ्नो कुरा राख्न पाइन्छ । तर, सरकारभित्र बसेर बोल्ने अधिकार नैतिक रूपमा र कानुनी रूपमा हुँदेन । यो स्पष्टीकरणको विषय हो ।”