Banner News

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजदेखि पूर्ण सुनुवाइ



काठमाडौँ, ११ माघ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा बुधवारबाट पूर्ण सुनुवाइ सुरु हुँदै छ । अमेरिकाको नागरिकता त्यागेपछि नागरिकता ऐन–२०६३ को दफा ११ को प्रक्रियामा गएर लामिछानेले फेरि नागरिकता लिनुपर्ने वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले बताए ।

पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको थियो । लामिछानेबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको फायल सर्वोच्च अदालतले झिकाएको छ । २०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र मङ्सिर १३ मा उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल प्रति पनि सर्वोच्च अदालतले झिकाएको छ ।

अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया पूरा नगरेर उनले २०५० सालमा लिएको नागरिकता अहिले चलाइरहेका छन् । पुरानो नागरिकता दुरुपयोग गरेको र अमेरिकी नागरिक छँदै नेपालको पासपोर्ट लिएको भन्दै अधिवक्ता रविराज बसौला र सिन्धुली घर भएका युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए । चितवन–२ बाट निर्वाचित लामिछाने नागरिकता विवादकै बीच गृहमन्त्रीमा नियुक्त भएका थिए ।