राजनीति

प्रोटोकल मिचेर आइसियुमा स्वास्थ्य राज्यमन्त्री कार्की



काठमाडौँ, १२ माघ । संघीय संसद् भवन नयाँ बानेश्वरअघि मंगलबार दिउँसो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यलाई उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पतालमा लगियो ।

अस्पताल लगेलगत्तै बर्न वार्डको आइसियुमा राखेर उनको उपचार थालियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको शरीरको ८० प्रतिशत भाग जलेकाले अवस्था गम्भीर थियो । आचार्यलाई भेट्न राति ८ बजेतिर स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगिन् । तर उनले बिरामीलाई भेट्दा अस्पतालको प्रोटोकल भने ख्याल गरिनन् ।

दलबलसहित अस्पताल पुगेकी कार्कीले आइसियुमा आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनेक्रममा सहयोगीमार्फत भिडियो खिच्नसमेत लगाइन् । त्यो भिडियो यतिबेला भाइरल बनेको छ । भिडियोमा राज्यमन्त्री कार्कीको हातमा पन्जा देखिन्न । यसबाहेक उनीसँगै क्यामेराधारी केही व्यक्ति पनि आइसियुमा प्रवेश गरेको भिडियोमा देखिन्छ ।

भिडियोमा राज्यमन्त्री कार्कीले आचार्यलाई आफ्नो परिचय दिँदै कुराकानी सुरूवात गरेकी छन् । उनले आचार्यको आत्मलापमा आफ्नो नामसमेत उल्लेख भएको बताइन् । यसैक्रममा उनले भनेकी छन्, ‘किन यस्तो गर्नुभएको ? हामी थियौं नि, राज्य थियो नि । हाम्रो नयाँ सरकार बनेको थियो, हामीले केही न केही उपाय खोज्थ्यौं, यस्तो गर्नुहुन्थेन ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।