Banner News

राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण



काठमाडौँ, १२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेकी छन् ।

राष्ट्रपति भण्डारीसगै उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लगायतका उच्च पदाधिकारीहरु हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका हुन् ।

हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार १२औं शताब्दीमा बंगालका कवि जयदेवद्वारा रचित गीत गोविन्द काव्यलाई आजको दिन राष्ट्र प्रमुखलाई सुनाउने गरिएको छ । वर्षा र जाडोयाममा पतझडविहीन भएको बोटबिरुवामा पालुवा लाग्ने सुन्दर प्राकृतिक चित्रण जयदेवको रचनामा छ । भगवान कृष्णले गोपिनीसँग यही प्राकृतिक सौन्दर्यबीच रसरंग गरिएको गाथा मुख्य रूपमा यो काव्यमा छ ।

सरस्वती पूजाको अवसरमा राष्ट्रपतिले बसन्तपुर पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै हुदै आएको पाइन्छ । सोही परम्पराअनुसार नासलचोक पुग्नुभएकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरेको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरेकी छन् ।

वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको उपस्थिति रहेको थियो । वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ । वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने शास्त्रोक्त कथन छ ।