राजनीति

सामाजिक सञ्जाललाई नियमन तथा व्यवस्थापन गर्नुपर्छः प्रमुख निर्वाचन आयुक्त



काठमाडौँ, १२ माघ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

आज काठमाडौँमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी’ मा बोल्दै उनले सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामको रुपमा स्थापित हुन खोजिरहेको बताए ।

उनले भने, ‘सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामकै क्षेत्र हो मैले भन्यो भने आम सञ्चारको परिभाषा नबुझेको स्वाँठ भनेर तपाईहरुले मलाई भनिहाल्नु हुन्छ । तर अहिले सामाजिक सञ्जाल पनि समाचार माध्यामको रुपमा स्थापित हुन खोज्दैछन । यीनलाई कहाँ, कसले हेर्ने हो ? सबै यही प्रेस काउन्सिलले हेर्न सक्छ कि सक्दैन ? त्यो अर्को पाटो हो । तर यसलाई पनि अव समग्रमा मैले चुनावको कुरा मात्रै गरिराखेको छैन । एउटा दायरामा ल्याएर यसको व्यवस्थापन र नियमनको पनि कुरा गर्नु पर्छ ।’

आयुक्त थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सक्दैन ? भनि प्रश्न गरे । उनले सबै सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रशारित हुने सामग्रीहरु स्वतः आउने गरी सफ्टवेयरको विकास गर्न पनि नेपाल प्रेस काउन्सिलसँग आग्र्रह गरे ।