समाचार

सीता एअरले टरीगाउँ विमानस्थलमा परीक्षण उडान भर्ने



दाङ, १३ माघ । दाङको तुलसीपुर–१२ टरीगाउँ मा रहेकाे विमानस्थलमा निजी विमान कम्पनी सीता एअरले उडान भर्ने भएको छ । त्यसका लागि सीता एअरले आज परीक्षण उडान गर्दैछ ।

तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एअरको विमानले परीक्षण उडान भर्ने तय भएको छ । ‘निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ’, उहाँले भन्नुभयो । लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो । धावनमार्ग विस्तार गरी ठूला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको चौधरीको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाले चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाएको छ । अहिले नेपाल वायु सेवा निगमले विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दैआएको छ । आइवार, मङ्गलवार, बिहीवार र शनिवार उडान हुने गरेको छ । टरीगाउँ मा इन्धन डिपो पनि सञ्चालनमा आएको छ ।

अहिले दाङबाट काठमाडौँको न्यूनतम भाडा ८ हजार ८ सय १० तथा काठमाडौँबाट दाङको भाडा न्यूनतम ९ हजार र अधिकतम १२ हजार रुपैयाँ रहेको छ । अहिले कायम रहेको ७ सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ । रासस