समाचार

बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, चार सय घरमा क्षति



बाजुरा, १३ माघ । बाजुरामा मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव नौ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन् ।

भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । बडीमालिकाका १२, हिमालीका चार र गौमुलका १४ परिवार आफन्तकहाँ बसेका छन् । भूकम्पले घर चर्किएका र बस्ने अवस्थाका नभएकाले पाँच परिवार त्रिपालको सहारमा छन् ।

भूकम्पपछि त्रिपालको सहारामा बडीमालिकाका एक, गौमुलका एक र हिमालीका तीन परिवार रात काट्न बाध्य छन् । बडीमालिकाको एउटा परिवार मन्दिरमा बास बस्न थालेको थापाले बताए ।