अर्थ

व्यवसायीको निधनले आर्थिक क्षेत्र मर्माहत



काठमाडौँ, १३ माघ । दुई जना व्यवसायीको असामयिक निधनपछि पूर्वका आर्थिक क्षेत्रका सङ्घसंस्था मर्माहत भएका छन् । गएको मङ्गलवार काठमाण्डौ नयाँ बानेश्वरमा व्यवसायी प्रेमप्रसाद आचार्यले शरीरमा आगो लगाएर आत्मदाह प्रयास गर्नुभएको थियो । उहाँको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा बुधवार बिहान निधन भएको थियो ।

आचार्यको निधन लगत्तै बुधवार नै विराटनगरका विद्युतीय सामग्रीको व्यवसाय गर्ने मोहन न्यौपानेले विराटनगर–३ को आफ्नै घरमा झुण्डिएर आत्महत्या गर्नुभयो । दुवै घटनामा वित्तीय दबाब प्रमुख देखिएको थियो । मोरङ व्यापार सङ्घका उपाध्यक्ष विकासकुमार बेगवानीले मुलुकमा आर्थिक सूचकाङ्क सकारात्मक नरहेको अवस्थामा देश अलि बढी संवेदनशील बन्नुपर्ने बताउनु भयो । उहाँले आर्थिक क्षेत्रमा सुधारका ठाउँ प्रशस्तै रहेकाले देशले सुधारका कदम तत्कालै उठाउनुपर्ने बताउनु भयो ।

सङ्घका अध्यक्ष नवीन रिजालले बढ्दो बैंकको ब्याजदर र प्रतिकुल आर्थिक नीतिका कारण व्यवसाय धरासायी बन्दै गएको बताउनु भयो । उहाँले आफूले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर व्यवसायीको माग सम्बोधन गर्न अनुरोध गरेको बताउनुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले आइपर्ने परिस्थितिबाट भाग्नुको साटो समस्या समाधनतर्फ उन्मुख रहन जरूरी रहेको बताउनु भयो । उहाँले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सङ्घ संस्थाको स्थापना भएको भन्दै समस्या पर्दा उद्योग व्यवसायीले यस्ता सङ्घ संस्थासँग छलफल र परामर्श लिनुपर्ने बताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर १ का अध्यक्ष भीम घिमिरेले आर्थिक क्षेत्रलाई चुस्त दुरूस्त बनाउन देशले निजी क्षेत्रको समन्वयमा कार्य गर्नुपर्ने बताउनु भयो । अध्यक्ष घिमिरेले दुई दिनको अन्तरालमा परस्पर दुई दुःखदायी घट्ना घटेको भन्दै व्यवसायीप्रति देशले न्याय गर्नुपर्ने बताउनु भयो । उद्योग सङ्गठन मोरङले बिहीवार अपिल जारी गर्दै यस खाले दुःखद् र मार्मिक घटनाले भित्री अन्तरवस्तु र पीडालाई उजागर गरेकाले आगामी दिनमा दोहोरिन नदिन नियमनकारी निकायले उद्योगी व्यवसायीहरुको उचित गुनासो, पिरमार्का, समस्यालाई गम्भीरतापूर्वक सुनेर समयमा नै सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताएको छ । रासस