समाचार

सर्वोच्च परिसरमा नाराबाजी गर्ने ७ जना पक्राउ



काठमाडौँ, १३ माघ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै उनको सांसद पद खारेज गरिदिएसँगै समर्थकले सर्वोच्च परिसरमा नाराबाजी गरेका छन् ।

सर्वोच्च परिसरमा शुक्रबार साँझ भेला भएका समर्थकले रविको पक्षमा नाराबाजी गर्ने क्रममा ७ जना समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कामु प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासले लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी सम्बन्धित अधिकारी (प्रमुख जिल्ला अधिकारी) लाई नदिएको अदालतले ठहर गरेको छ । यस्तै नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रक्रिया बमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन नदिएको पनि अदालतले ठहर गरेको छ ।