राजनीति

आइरन चक्की खरिदमा अख्तियारको चासो



काठमाडौँ, १५ माघ । स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा खाने आइरन चक्कीको खरिद गर्दा राज्यलाई ठुलो रकम नोक्सानी हुने भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

मन्त्रालयले आइरन चक्की खरिद गर्दा बजारमा बिक्री भइरहेको मूल्यभन्दा बढी पर्ने भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको हो । ‘अख्तियारमा उजुरी परेको छ। अनुसन्धान प्रक्रिया भन्न मिल्दैन,’ आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने । माघ ८ मा नागरिक दैनिकमा आइरन चक्की खरिद गर्दा राज्यलाई ११ करोड बढी आर्थिक भार पर्ने समाचार प्रकाशित भएको थियो ।

‘आइरन चक्कीमा देखादेखी करोडौं रूपैयाँ भ्रष्टाचारको खेल भइरहेकाले छानबिन गर्नुपर्ने र पुनः टेन्डर गरी सस्तोमा औषधि दिन चाहने कम्पनीहरूलाई मौका दिनुपर्ने’ उजुरीमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले बजारमा ४० देखि ५० पैसामा पाइने आइरन चक्कीलाई नोबाजेनिटिका भन्ने कम्पनीसँग ९० पैसा मूल्य आसपासमा खरिद गर्न लागेको स्रोतको दाबी छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।