Banner News

कांग्रेस संस्थापन पक्षमै असन्तुष्टि



काठमाडौँ, १७ माघ । पार्टीको निर्णय प्रक्रियामा केन्द्रीय पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समिति हावी भएपछि नेपाली कांग्रेसमा संस्थापन पक्षमा नै असन्तुष्टि बढेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा, पदाधिकारी र शीर्ष नेताहरूले केन्द्रीय समितिलाई बाइपास गरेर भूमिका विहिन बनाएको भन्दै संस्थापनपक्षकै केन्द्रीय सदस्यहरू मोर्चाबन्दी गरेर विरोधमा उत्रिएका छन् । पार्टी विधानमा व्यवस्था नभएको संयन्त्र निर्माण गरेर पार्टी पदाधिकारीको नाममा महत्वपूर्ण निर्णय हुन थालेपछि कांग्रेसको संस्थापन पक्षमै असन्तुष्टि बढेको हो ।

सभापति देउवा पक्षका करिब दुई दर्जन केन्द्रीय सदस्यहरूले सोमबार अलग्गै भेला गरेर केन्द्रीय समितिलाई बाइपास गरेर निर्णय गर्नेक्रम रोक्न सभापति देउवालाई ध्यानाकर्षण गराउने तयारी गरेका छन् । सोमबार दोस्रो पटक बसेको देउवा समूहका केन्द्रीय सदस्यहरुको भेलाले लामो समयदेखि केन्द्रीय समितिको बैठक नराख्ने तर, सबै निर्णय अवैधानिक पदाधिकारी बैठक र कार्यसम्पादन समितिबाट गर्ने प्रवृत्तिले पार्टी चल्न नसक्ने निष्कर्ष निकालेको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सात महिनादेखि बस्न सकेको छैन ।

सत्ताबिमुख भएपछि बोलाइएको केन्द्रीय समिति बैठक तीन पटकसम्म स्थगित भईसकेको छ । अब कहिले बोलाउने टुंगो छैन । हुन त पार्टी इतर समूहमा पनि पछिल्लो समय तिव्र विवाद देखिएको छ । इतर समूहभित्र नेता को बन्ने भन्ने विषयले विवाद देखिएको हो । पार्टीको १४ औं महाधिवेशनपछि डा। शेखर कोइराला उक्त समूहको सर्वसम्मत नेताको रुपमा देखिनुभएको थियो । तर, गत पुस पहिलो साता सम्पन्न पार्टी संसदीय दलको नेता चयनमा इतर समूहबाट पार्टी महामन्त्री गगन थापा उम्मेद्वार बनेपछि समूहको नेताको विषयमा विवाद सुरु भएको हो ।