राजनीति

पवित्र स्थान पशुपतिमा बसेर अपवित्र काम गर्नेलाई दण्डित गर्ने मन्त्री किराँतीको चेतावनी



काठमाडौँ, १७ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिनुभएको छ ।

मंगलबार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीहरुलाई सफा पशुपति पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिनुभएको हो । उहाँले पशुपति परिसरमा रहेका शौचालय एकदमै फोहोर भएको भन्दै शौचालयको सरसफाईमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले पशुपति क्षेत्र विकास कोषले पशुपति विकासका लागि गर्ने कामको तत्कालिन, अल्पकालिन र दीर्घकालिन क्यालेण्डर बनाउन आग्रह गर्नुभयो । उहाँले मन्त्रालयले क्यालेण्डर अनुसार काम भए/नभएको आवश्यकता अनुसार अनुगमन गर्ने पनि बताउनुभयो ।

मन्त्री किराँतीले पशुपति जस्तो पवित्र स्थानमा बसेर अपवित्र काम गर्नेलाई दण्डित गर्ने चेतावनी दिनुभयो । उहाँले पशुपति जस्तो पवित्र स्थान पाएर पनि नेपालले राम्रोसँग प्रयोग गर्न नसकेको भन्दै विकास कोषको ज्ञान, क्षमता र संस्कृतिमाथि गम्भिर प्रश्न उठेको बताउनुभयो । उहाँले पशुपति क्षेत्र विकास कोषले कल्याणकारी कामहरु गर्नसक्ने भन्दै कोषले विश्वविद्यालय, अस्पताल र विद्यालयहरु सञ्चालन गर्नु सामान्य काम भएको बताउनुभयो । मन्त्री किराँतीले पशुपति जस्तो ठूलो आध्यात्मिक आस्थाको केन्द्रमा बसेर गैर आध्यात्मिक र अराजकता गर्ने छुट कसैलाई नभएको बताउनुभयो ।