समाचार

मदिरासहित तीन भारतीय नागरिक पक्राउ



रौतहट, ४ फागुन । रौतहटको सदरमुकाम गौरबाट भारतीय नम्बरको गाडिमा राखेर भारत तर्फ लान लागेको मदिरासहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गौरबाट गएको गस्ती टोलीले बुधबार साँझ ५ बजे भारत लग्ने अभिप्रायले सीमावर्ती क्षेत्र गौर नगरपालिका ४ दालमिल स्थित मोहन अग्रवालको बगैँचा नजिकै उक्त स्कारपियो गाडीमा रोकी सौफी रक्सी लोड गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पचपकडी १३ का ४५ वर्षीय नरेश महतो, २४ वर्षीय ओमप्रकाश कुमार र कसवाकपुर पकरी १६ का २५ वर्षीय महमद सलमान रहेका छन् । उनीहरुले प्रयोग गरेको डिएल ४ सिएनबी ०६१६ नम्बरको स्कर्पियो गाडी र १४ हजार २५० मूल्य बराबरको ५७० बोतल सौंफी मदिरा बरामद गरेको हो ।

भारत विहार राज्य जिल्ला मोतिहारी ग्राम पचपकडी बरामद मदिरासहित गाडीको कुल नौ लाख चौध हजार दुई सय पचास मुल्यांकन गरि पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।