राजनीति

मन्त्री खानद्वारा टोल फ्रि नम्बर सार्वजनिक



काठमाडौँ, ४ फागुन । खानेपानी मन्त्री अब्दुल खानले गुनासो सुनाउने टोल फ्री नम्बर सार्वजनिक गरेका छन् ।

आज खानेपानी मन्त्रालयमा गरिएको एक कार्यक्रममा उनले गुनासो सुनुवाइ इकाईको स्थापना गरेको जानकारी गराएका छन् । सो अवसरमा बोल्दै मन्त्री खानले मन्त्रालय र सो अन्तर्गत रहेका खानेपानी सम्बद्ध कार्यालयको सेवा प्रवाहको बारेमा तथा खानेपानी समस्याका बारेमा टोल फ्री नम्बर फोन गरेर गुनासो टिपाउन सकिने जानकारी दिए ।

जनताका गुनासो लिन कार्यालय समयमा ४ जना कर्मचारी खटिने र कार्यालय बन्द भएपछि फोन गरेर गुनासो रेकर्ड गराउन सकिने जानकारी दिए । मन्त्री खानले जनताबाट आएको गुनासो सम्बोधनका लागि गुनासो अनुसारका कार्यालयले समाधानका लागि ध्यानाकर्षण गर्ने बताए । यस्तै उनले सिंहदरबारभित्र अब पूर्ण रूपमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइनबाट आएको पानी प्रयोग गर्नुपर्ने बताए । सिंहदरबारभित्र पूर्ण रूपमा बोतल र जारको पानी निषेध गर्न लागेको बताउँदै पानीको पाइप नपुगेको मन्त्रालयमा सिंहदरबारभित्रै जारमा पानी भरेर लैजाने व्यवस्था गर्न लागेको बताए ।