Banner News

प्रधानमन्त्री देउवाको कार्यशैलीले पौडेल र सिटौला आक्रोशितःकांग्रेसमा चर्कियो मतभेद



काठकाडौं, २५ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारमा सहभागितालाई लिएर कांग्रेसमा नेताहरुबीच मतभेद चर्किएको छ । नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समुहले दुईवटा सर्त अघि सारेको छ । मन्त्रालय किटेर आफ्नो पक्षलाई जिम्मेवारी नदिएको भन्दै बुधवार प्रधानमन्त्रीको सपथग्रहण कार्यक्रममै नजाने चेतावनी दिएको पौडेल समुह देउवाको आग्रहपछि सपथग्रहण समारोहमा सहभागि भएको थियो ।

सपथग्रहण समारोहमा सहभागि भए पनि आफ्नो समुहले पाउने मन्त्रालयको संख्या र मन्त्रालय किटानीपछि मात्रै नाम पठाउने पौडेल पक्षले वताएको छ । ‘कतिवटा र कुन कुन मन्त्रालय दिइन्छ भन्ने कुरामा हामी सरकारमा जाने वा नजाने निर्भर छ’ पौडेल पक्षका एक नेताले भने, ‘त्यसैले पहिले कतिवटा मन्त्रालय र कुन कुन मन्त्रालय भन्ने किटानी होस् भनेर पर्खेका हौं ।’

कांग्रेसको सिटौला समुहले पनि मन्त्रालय तोकेर जिम्मेवारी नदिएकाले मन्त्रिपरिषदमा सहभागि नभएको जनाएको छ । सिटौलाले शिक्षा मन्त्रीमा पठाउन खोजेका काठमाडौंका सांसद भीमसेनदास प्रधानलाई प्रधानमन्त्री देउवाले विनाविभागीय जिम्मेवारी दिन खोजेपछि प्रधान सपथग्रहण गर्नबाट रोकिएका हुन् । देउवाले शिक्षा मन्त्रालयको जिम्मेवारी आफ्नै विश्वासपात्र गोपालमान श्रेष्ठलाई दिएका छन् ।