Banner News

प्रधानमन्त्री दाहाल र महावीर पुनबीच छलफल



काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आविष्कार केन्द्रका प्रमुख महावीर पुनबीच छलफल भएको छ ।

आज बालुवाटारस्थित निवासमा आविष्कार केन्द्रका प्रमुख पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका छन् ।

‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन,’ उनले भने, ’नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन।’ वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उनले जोड दिए। ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो। जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन ।’

विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । आविष्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । कृषि, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका थिए।