राजनीति

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य सेवा दिवसका लागि मूल समारोह समिति गठन



काठमाडौँ, ९ फागुन । ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका साथ सरकारले १५ फागुनमा स्वास्थ्य सेवा दिवस मनाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवस मनाउनका लागि मुख्य सचिव शंकरदास वैरागीका नेतृत्वमा मूल समारोह समिति गठन गरेको हो । समितिको सह-संयोजमा सचिव देवकुमारी गुरागाईँ र स्वास्थ्य सचिव डा. रोशन पोखरेल रहेका छन् । समितिको सदस्यमा अतिरिक्त सचिव, महानिर्देशक, महाशाखा प्रमुख केन्द्रीय अस्पतालका प्रमुख, निर्देशक, कार्यालय प्रमुख, स्वास्थ्य क्षेत्रका राष्ट्रियस्तरका ट्रेड युनियनका अध्यक्षहरू र प्रमुख स्वास्थ्य समन्वय महाशाखा रहनेछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव सदस्य सचिव रहने छन् ।

यस्तै कार्यक्रम व्यवस्थापन समितिमा संयोजकमा स्वास्थ्य सेवा विभागको महानिर्देशक दिपेन्द्ररण सिहंलाई तोकिएको छ । कार्यक्रम व्यवस्थापन समितिको सदस्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख, नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख, गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशक र औषधि व्यवस्था विभागका महानिर्देशक, स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक र कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत रहने छन् ।

फागुन १४ गते आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले योगा कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य क्षेत्रका राष्ट्रिय स्तरका टे«ड युनियनहरूको सहयोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यही फागुन १४ गते रक्तदान कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वास्थ्य सेवा दिवस १५ फागुन बिहान साढे ८ देखि राष्ट्रिय सभागृह भृकुटीमण्डपमा मूल समारोह कार्यक्रम आयोजना गरिने भएको छ ।