Banner News

पल शाहले पाए पूर्ण सफाइ



काठमाडौँ, १४ फागुन । कलाकार पल शाहलाई उच्च अदालत पोखराले जबरजस्तीकरणीको अभियोगमा पूर्ण सफाइ दिएको छ ।

आज न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै शाहलाई पूर्ण सफाइ दिएको हो ।

बाल यौन दुर्व्यवहारमा शाहलाई दुई वर्ष ६ महिना कैद र पीडितलाई १२ लाख क्षतिपूर्ति भराउने आदेश भएको थियो । जिल्ला अदालतको सो आदेशविरुद्ध शाह उच्च अदालतमा पुनरावेदनका लागि गएका थिए । साथै सरकारी वकिलको तर्फबाट भने जबरजस्तीकरणीको अभियोगलाई कम गर्दै बालयौन दुर्व्यवहारमा दोषी ठहर गर्ने फैसला नमिलेको भन्दै जबरजस्तीकरणीमा दोषी ठहर गर्नुपर्ने मागसहित पुनरावेदन गएका थिए ।

शाहविरुद्ध नवलपुर तथा तनहुँ जिल्लामा एकै नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा दुई मुद्दा दायर भएको थियो । नवलपुर अदालतले उनलाई बलात्कार अभियोगमा सफाइ दिँदै, बालयौन दुर्व्यवहारको कसुरमा दोषी ठहर गरेको थियो । त्यस्तै, तनहुँ अदालतले भने शाहलाई पूर्ण सफाई दिएको थियो । उच्च अदालतले नवलपुरको फैसला उल्टाउँदै शाहलाई पूर्ण सफाइ दिएसँगै अब उनी रिहा हुनेछन् ।