समाचार

वृद्धभत्ता लुट्न कुटपिट गरिएका वृद्धको उपचारका क्रममा मृत्यु



धादिङ, १६ फागुन । वृद्धभत्ता लुट्न कुटपिट गरिएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर–७ मा रहेको निर्वेश्वर महादेव मन्दिरमा बस्दै आएका धुनीबेसी नगरपालिका वडा नम्बर–६ का ८४ वर्षीय बलराम उप्रेतीको मृत्यु भएको हो । अघिल्लो दिन वृद्धभत्ता बुझेका उप्रेतीलाई माघ १० गतेराति धुनीबेसी नगरपालिका–६ का ३७ वर्षीय पुरुषोत्तम बानियाँले कुटपिट गरी भत्ता रकम लुटेर लगेका थिए ।

छिमेकी र प्रहरीको सहयोगमा उप्रेतीको उद्धार गरी नेपाल भारतमैत्री अस्पताल काठमाण्डौमा उपचारका लागि भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आइतवार ज्यान गएको जिल्ला प्रहरीले जनाएको छ । घटनापछि आरोपितलाई प्रहरीले धुनीबेसी नगरपालिका वडा नम्बर ६ चालिसेबाट पक्राउ गरी हिजो जिल्ला अदालतमा पेस गरेको थियो । जिल्ला अदालतले अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न आदेश दिएको छ ।