Banner News

सांसदलाई प्रशिक्षण दिँदै ८ दल: प्रदेशसभा सदस्यसँग अन्तर्क्रिया गर्ने



काठमाडौँ, १८ फागुन । नेपाली कांग्रेससहित ८ दलले आज काठमाडौँमा संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् ।

राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो । राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका प्रशिक्षण रोयल बैंक्वेट तीनकुनेमा संघीय सांसदहरूलाई बिहीबार दिउँसो १ बजेदेखि प्रशिक्षण दिने कार्यक्रम रहेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई खबर गरिएको छ ।

साथै ८ दलले शुक्रबार सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रियासमेत गर्ने भएका छन् । कांग्रेससहित दलहरूले पदाधिकारीलाई सम्बन्धित प्रदेशमा खटाइसकेका छन् । यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ । ८ दलबाट पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन् ।