राजनीति

क्षेत्रीहरु आदिवासी हुन् : उपराष्ट्रपति पुन



काठमाडौँ, २० फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरु आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताएका छन् ।

आज काठमाडौँको कलंकीस्थित नेपाल मगर संघको भवन पुनर्निर्माण तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरुले आफ्नो पहिचानको मुद्दालाई छाडन नहुने पनि बताए । उपराष्ट्रपति पुनले क्षेत्रीहरु आदिवासी हुन वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह समेत गरे ।

उनले भने, क्षेत्रीहरु आदिवासी हुन् कि होइनन् भन्ने कुरा अलि गहिरो विषय छ । र, यसको इतिहास, तथ्यहरु हामीले हेर्न जरुरी छ । मलाई लाग्छ–क्षेत्रीहरु पनि आदिवासी हुन भन्ने कुरा चाँही सही हो । यसका लागि आन्दोलन पनि उठेको थियो । र, त्यो आन्दोलन एउटा निष्कर्षमा जान सकेन । र, त्यसले दायाँबायाँ मोड लिन पुग्यो’ ‘त्यसो भएको हुनाले अलि गहिरिएर हामीले अध्ययनहरु गर्नुपर्ने, घोत्लिएर हेर्नुपर्ने, अलि छलफल गर्नुपर्ने कुनै आग्रह, पूर्वाग्रह विना हामी अलि माथि उठेर हामीले सबै आदिवासी समूदायलाई एकतावद्ध गर्न सक्नु पर्दछ । मेरो अध्ययनले क्षेत्रीहरु आदिवासी नै हुन् भनेर महशुस गर्छ । पहिचानको मुद्दालाई हामीले कहिल्यै पनि छोडनु हुँदैन । हाम्रा कतिपय मुद्दाहरु संविधान सम्बोधन हुने क्रममा छन । त्यसका लागि हामीले संविधान संशोधनका लागि कोसिसहरु गर्नेनै छौं ।’