समाचार

बालबालिकामा देखिन सक्ने क्यान्सरका लक्षणहरु



काठमाडौँ, २९ फागुन । बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरेर उपचार गर्न सके निको हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जति चाँडो क्यान्सर पत्ता लाग्यो, त्यति नै प्रभावकारी रूपमा निको पार्न सकिने मन्त्रालयले जनाएको छ । रगत कमी भई छाला फुस्रो देखिनु र असाधारण रूपमा तौल घट्नु बालबालिकामा क्यान्सरको लक्षण हुनसक्ने मन्त्रालयले जनाएको छ ।

“लामो समयसम्म खोकी निको नहुनु आँखाको नानी सेतो हुनु, आँखा डेढो हुनु, दृष्टि गुमाउनु, पेट असामान्य रूपमा फुल्नु क्यान्सरको लक्षण हुन्,” मन्त्रालयले जारी गरेको सूचनाामा उल्लेख छ, “विशेषगरी विहान अत्यधिक टाउको दुख्नु र बान्ता हुनु । हड्डी दुख्नु, शरीरको विभिन्न भागमा चोट नलागी सुन्निनु वा निलो डाम हुनु, चाँडो गल्नु, थकित हुनु र झोक्राउनु, चक्कर लाग्नु, शरीर सन्तुलनमा राख्न नसक्नु क्यान्सरका लक्षण हुन् ।

समयमै उपचार गरे क्यान्सर निको हुने भएकाले यसका लक्षणबारे ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।